बाजुराका मिलन बुढाथापा : सामाजिक सेवासँगै देउडा संगीतबाट चम्किँदै ‘टिकटक स्टार’

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा जन्मिएका मिलन बुढाथापा पछिल्लो समय सामाजिक सेवा र सांगीतिक क्षेत्रमार्फत छुट्टै पहिचान बनाउन सफल भएका छन्। सानै उमेरदेखि संगीतमा रुचि राख्दै आएका उनी विशेषगरी देउडा गीत र सामाजिक सञ्जालमा सार्वजनिक हुने भिडियोका कारण दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्।

CP Hospital Dhangadhi

बुढाथापाले गाएको एक देउडा गीतले टिकटकमा १२ लाखभन्दा बढी भ्युज बटुलेको छ। उक्त गीतसँग सम्बन्धित भिडियो फेसबुक रिलमा पनि निकै रुचाइएको उनले बताएका छन्। उनका अनुसार पहिलो रिलमा करिब ३४ हजार लाइक प्राप्त भएको थियो भने अर्को रिलले ३२ हजारभन्दा बढी लाइक बटुलेको छ। पछिल्लो समय पनि सोही गीतका भिडियोमा निरन्तर भ्युज, लाइक र सकारात्मक प्रतिक्रिया थपिँदै गइरहेका छन्।

४५–४६ वर्षको उमेरमा पनि उस्तै जोश, उत्साह र उमङ्गका साथ सामाजिक सञ्जालमा सक्रिय बुढाथापा अहिले बाजुराका ‘टिकटक स्टार’ तथा देउडा गायकका रूपमा चिनिन थालेका छन्। उनको लोकप्रियता बढेसँगै उनीसँग फोटो खिच्ने, टिकटक भिडियो बनाउने तथा विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन आग्रह गर्नेहरूको संख्या पनि बढ्दै गएको छ।

nawajiwan
Attariya Hospital

भौगोलिक रूपमा विकट बाजुरामा जन्मिएर पनि आफ्नो प्रतिभा र रुचिलाई निरन्तरता दिएका बुढाथापा सामाजिक सेवामा समेत सक्रिय छन्। समाजमा हुने सकारात्मक र उदाहरणीय कार्यमा सकेसम्म योगदान पुर्‍याउने उनको चाहना रहेको छ।

‘मानिस जन्मेपछि राम्रो कर्म गरेर जानुपर्छ,’ बुढाथापा भन्छन्, ‘जीवन छोटो छ, त्यसैले सधैं हाँसीखुसी भएर अरूलाई पनि खुसी बनाउँदै बाँच्नुपर्छ।’

देश तथा विदेशमा रहेका दर्शक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि निरन्तर माया, साथ र हौसला प्रदान गर्न सबैसँग आग्रह गरेका छन्। सामाजिक सेवा र देउडा संगीतलाई सँगसँगै अघि बढाउँदै मिलन बुढाथापा बाजुराबाट उदाउँदै गरेका चर्चित कलाकारका रूपमा आफ्नो पहिचान अझ बलियो बनाउँदै छन्।