धनगढीको केजी अस्पतालद्वारा बाढीपीडितका लागि सात दिनको सम्पूर्ण आम्दानीसहित १२ लाख रुपैयाँ सहयोग

Image
Nisarga Hospital

धनगढीस्थित केजी अस्पताल प्रालिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि एक साताको सम्पूर्ण आम्दानी सहयोगस्वरूप प्रदान गरेको छ। अस्पतालले कुल १२ लाख २ हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

CP Hospital Dhangadhi

अस्पतालका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीका अनुसार भदौ ११ गतेदेखि १७ गतेसम्मको अस्पतालको सम्पूर्ण आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ रहेको थियो। यसबाहेक अस्पतालका चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले स्वेच्छिक रूपमा ५१ हजार १११ रुपैयाँ सहयोग गरेका थिए।

उक्त रकम बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, खाद्यान्न वितरण, आपतकालीन स्वास्थ्य सेवा तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने विश्वासका साथ प्रदान गरिएको अवस्थीले बताए।

nawajiwan
Attariya Hospital

‘बाढीका कारण आफन्त गुमाएका र बेपत्ता परिवारजनको पर्खाइमा छटपटाइरहेका नागरिकको पीडाप्रति हामी स्तब्ध छौँ,’ अवस्थीले भने, ‘मानव जीवनको रक्षा र उपचार गर्नु हाम्रो मुख्य उद्देश्य हो। यस्तो विपद्को घडीमा समाजलाई आड र भरोसा दिनु पनि आफ्नो कर्तव्य ठानेर सात दिनको सम्पूर्ण कलेक्सन तथा कर्मचारी साथीहरूको स्वेच्छिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका हौँ।’

अस्पतालले सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ। कोभिड–१९ महामारीको चरम संकटका बेला पनि अतिरिक्त शुल्क नलिई सेवा प्रदान गरेको अस्पतालको भनाइ छ।

धनगढीको चौराहामा रहेको केजी अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, ओपीडी, आधुनिक प्रविधिबाट शल्यक्रियालगायत विभिन्न स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ।