आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्णजन्माष्टमी

Image
Nisarga Hospital

वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै श्रीकृष्णजन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वास छ। यसै कारण आजको दिनलाई श्रीकृष्णजन्माष्टमी तथा रातलाई ‘मोहरात्रि’का रूपमा मनाउने गरिन्छ।

CP Hospital Dhangadhi

जन्माष्टमीका अवसरमा देशभर रहेका श्रीकृष्ण मन्दिरहरूमा विशेष पूजा, आराधना, प्रवचन तथा भजनकीर्तन आयोजना गरिएको छ। भक्तजनहरू व्रत बस्ने, रातभर जाग्राम गर्ने तथा भगवान् श्रीकृष्णको भक्ति गर्ने परम्परा रहेको छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णले अन्याय र अत्याचारविरुद्ध सत्य र धर्मको पक्षमा उभिन मानव समुदायलाई प्रेरणा दिएको धार्मिक विश्वास छ। कुरुक्षेत्र युद्धका क्रममा पाण्डवपुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भगवद्गीता’का रूपमा प्रसिद्ध छ, जसले कर्तव्य, कर्म र धर्मको महत्त्वलाई उजागर गर्दछ।

nawajiwan
Attariya Hospital

जन्माष्टमीका अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित ऐतिहासिक कृष्णमन्दिरमा विशेष मेला लाग्ने गर्दछ। साथै, काठमाडौँ उपत्यकासहित देशभरका साना–ठूला कृष्णमन्दिरमा भक्तजनको उल्लेख्य भीड देखिन्छ।

धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने गरेका छन्। श्रीकृष्णजन्माष्टमीको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।