
शुक्रबार बिहान सुरुङबाट उद्धार गरिएका सञ्जय साहले उद्धारकर्मीसँग सुरुङभित्रको अवस्थाबारे जानकारी दिएका छन्। कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत साहले दुर्घटना भएपछि आफूले ४०–४५ जनालाई बाहिर निस्कन आग्रह गरेको बताए।

सबैलाई सुरक्षित बाहिर निकाल्ने क्रममा आफ्नो समय गएको र अन्तिममा आफू निस्कन नसकेर सुरुङभित्रै फसेको उनले बताए। उनका अनुसार आफू नजिकका तीन–चार जना साथीहरूसँग मात्र सम्पर्कमा थिए।

सुरुङ लामो भएकाले अझै अन्य व्यक्ति भित्र फसेको हुनसक्ने उनले बताए। पावर हाउसमा समेत मानिसहरू हुनसक्ने र सुरुङभित्र पानी पसेको हुनसक्ने उनको भनाइ छ।

लामो समयपछि उद्धार भएर बाहिर निस्किएका साहले आफू भित्र रहँदा महामन्त्र जप गर्दै बसेको समेत बताए।






























