
अत्तरिया : एक वर्षअघि श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन अछाम जयगढ बजार उत्सवको तयारीमा थियो। बजार सजिँदै थियो, झण्डा गाडिँदै थिए र चाडपर्वको रौनक सुरु भइसकेको थियो। तर, त्यही दिन साउँद परिवारका लागि खुसीको क्षण कहिल्यै नमेटिने पीडामा परिणत भयो।

जयगढ बजारमा झण्डा गाड्ने क्रममा विद्युत्को तारमा झण्डाको पोल छोइँदा करेन्ट लागेर गजेन्द्र साउँद र राधा साउँद दम्पतीका एक्लो छोरा रोहित साउँदको मृत्यु भएको थियो। छोराको असामयिक निधनले परिवारसँगै सिंगो जयगढ बजारलाई स्तब्ध बनाएको थियो।
समय बित्दै गयो। तर, रोहितको सम्झना र उनको अभावबाट साउँद परिवार अझै बाहिरिन सकेको थिएन। छोराको निधनको पीडा बोकेर जीवनलाई अघि बढाउने प्रयास गरिरहेका गजेन्द्र–राधामाथि एक वर्ष नपुग्दै फेरि अर्को बज्रपात परेको छ।

यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन नै उनीहरूले आफ्नी जेठी छोरी झरना साउँदलाई गुमाएका छन्।
केही दिनअघि मुटुसम्बन्धी समस्याका कारण काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना भएकी झरनाको उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो। स्वास्थ्यमा सुधार भएपछि उनी घर फर्कने तयारीमा थिइन्। तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि बिहीबार राति उनलाई फेरि अस्पताल लगिएको थियो।

तर, यसपटक झरना अस्पतालबाट घर फर्किन पाइनन्। अस्पतालले उनलाई मृत घोषित गरेको परिवारले जनाएको छ।
एक वर्षअघि श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन एक्लो छोरा रोहितलाई गुमाएका गजेन्द्र–राधाले यस वर्ष त्यही दिन जेठी छोरी झरनालाई पनि गुमाउनुपरेको छ। एउटै परिवारका दुई सन्तानको एक वर्ष नपुग्दै एउटै चाडको अघिल्लो दिन मृत्यु हुनु साउँद परिवारका लागि अकल्पनीय पीडा बनेको छ।
रोहितको निधनपछि शोकमा डुबेको जयगढ बजारले एक वर्ष नपुग्दै फेरि उस्तै पीडादायी खबर सुन्नुपरेको छ। गत वर्ष चाडपर्वको उल्लासबीच रोहितको निधनले बजार स्तब्ध बनेको थियो। यस वर्ष झरनाको निधनको खबरले फेरि जयगढ शोकमा डुबेको छ।
चाडपर्वको रौनकमा रमाउने तयारीमा रहेको बजारमा यसपटक पनि उत्सवभन्दा शोक छाएको छ। गत वर्ष यही दिन रोहितको अन्तिम बिदाइ भएको थियो, यस वर्ष फेरि त्यही दिन झरनाको जीवनयात्रा टुंगिएको छ।































