
अत्तरिया : सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक सांस्कृतिक पर्व गौरा शुक्रबार धुमधामका साथ मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

दार्चुला, बैतडी, डडेल्धुरा, अछामलगायत पहाडी जिल्लामा गौरादेवीका मन्दिरमा विशेष पूजाआजा, जात्रा तथा देउडा खेल्ने परम्परा रहेको छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले समेत गौरादेवीका मन्दिर तथा गौरा खलामा भेला भएर परम्परागत विधिअनुसार पर्व मनाउँदै आएका छन्।

यसैबीच कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडा क्षेत्रमा रहेको गौरा मन्दिर परिसरमा पनि शुक्रबार भव्य रूपमा गौरा पर्व मनाइएको छ। अठवालीका दिन व्रत बसेर गौरा खलामा पार्वती र शिवको विशेष पूजाआजा गरिएको छ। यस दिनलाई दुर्वाष्टमीका रूपमा समेत मनाउने गरिन्छ।
गौरा पर्वको प्रमुख आकर्षण देउडा खेल हो। महिला तथा पुरुषहरू गोलबद्ध भएर विभिन्न भाकामा देउडा खेल्दै पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक सन्देश प्रस्तुत गर्ने गर्छन्। चैतली, धुमरी, ढुस्कोलगायतका भाकामार्फत मनोरञ्जनसँगै सामाजिक विकृति, विसंगति तथा समसामयिक विषयमाथि व्यङ्ग्यसमेत गरिन्छ। देउडाले सुदूरपश्चिमेली समाजमा आपसी सद्भाव, भाइचारा र सुख–दुःख साटासाट गर्ने संस्कृतिलाई बलियो बनाउँदै आएको छ।
कार्यक्रममा सहभागी गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गौरा केवल एउटा धार्मिक पर्व नभई सुदूरपश्चिमेली पहिचान, सभ्यता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको जीवन्त प्रतीक भएको बताएका छन्। उनले आधुनिकता र व्यस्त जीवनशैलीका कारण मौलिक संस्कृति ओझेलमा पर्न नदिन सबै सुदूरपश्चिमेली एकजुट हुनुपर्नेमा जोड दिए।

नगर प्रमुख भट्टले भने, “हामी जहाँ रहे पनि आफ्नो भाषा, भेषभूषा, परम्परा र संस्कृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। गौरा हाम्रो गौरव हो, हाम्रो पहिचान हो। यसलाई केवल एक दिनको पर्वका रूपमा होइन, आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने अमूल्य सम्पदाका रूपमा जोगाउनुपर्छ।”
उनले स्थानीय सरकार संस्कृति संरक्षणमा गम्भीर रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक पहल निरन्तर गरिने बताए। नगर प्रमुख भट्टले देश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेलीलाई गौरा पर्वको शुभकामना पनि दिएका छन्।
त्यसैगरी नेपाली कांग्रेसका युवा नेता हरी भट्टराईले गौरा पर्वले दुःख र विपत्तिका बेला पनि एकअर्कालाई साथ दिने सामाजिक भावना विकास गर्ने बताए। उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूका परिवारजनलाई यो कठिन पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरे।
गौरा मन्दिर संरक्षण समितिका अध्यक्ष नरेन्द्रराज भट्टराईले पौराणिक कालदेखि संरक्षण हुँदै आएको गौरा संस्कृति नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले हरेक वर्ष पूजाआजा तथा देउडा कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताए।
उनका अनुसार केही महिनाअघि गोदावरी नगरपालिका र डिभिजन वन कार्यालय कैलालीको सहयोगमा मन्दिर परिसरमा तारबार गरी ४०० भन्दा बढी धार्मिक तथा उपयोगी बिरुवा रोपिएको छ। रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दनलगायतका बिरुवा रोपेर मन्दिर परिसरलाई धार्मिक तथा पर्यावरणीय रूपमा समेत संरक्षण गर्ने अभियान अघि बढाइएको उनले जानकारी दिए। चौकीडाँडाको गौरा मन्दिरमा पूजाआजा, देउडा र सांस्कृतिक प्रस्तुतिसँगै शुक्रबार गौरा पर्वको विशेष रौनक देखिएको छ।




































