रसुवागढी बाढीमा बैतडीका प्रहरी सहायक हवल्दार हिक्मत महरा बेपत्ता, खोजी तथा उद्धारका लागि परिवारको आग्रह

Image
Nisarga Hospital

अत्तरिया : बैतडीको दोगडाकेदार गाउँपालिका २ नं वडा घर भएका प्रहरी सहायक हवल्दार हिक्मत बहादुर महरा रसुवागढी नाकामा ड्युटीमा खटिएका बेला अचानक आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका छन्।

CP Hospital Dhangadhi

प्रहरी चौकी रसुवागढीमा कार्यरत महरा बाढी आएको समयमा ड्युटीमै रहेका थिए। बाढीपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। उनको खोजी तथा उद्धारका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

महरा बेपत्ता भएपछि उनका परिवारजन गहिरो पीडामा छन्। दुई साना छोराछोरी सहित परिवारको जिम्मेवारी सम्हाल्दै आएका हिक्मतको अवस्थाबारे जानकारी नपाउँदा परिवार चिन्तित बनेको छ।

nawajiwan

उनका दाइ प्रहरी हवल्दार भोज बहादुर महराका अनुसार भाइको खोजीका लागि परिवारका सदस्यहरू आफैं बाढी प्रभावित क्षेत्रमा समेत पुगेका थिए। तर, प्रभावित क्षेत्रमा पुगेर खोजी गर्दा पनि हिक्मतको कुनै जानकारी प्राप्त नभएपछि परिवार निराश हुँदै फर्कन बाध्य भएको उनले बताए।

Attariya Hospital

“भाइको खोजीका लागि परिवारसहित बाढी प्रभावित क्षेत्रमा पुग्यौँ। धेरै ठाउँमा खोजी गर्‍यौँ, तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेन,” भोज बहादुरले भने।

उनका अनुसार हिक्मतले करिब १२ वर्षदेखि नेपाल प्रहरीमा सेवा गर्दै आएका छन्। ड्युटीमा खटिएका बेला प्राकृतिक विपत्तिमा परी सम्पर्कविहीन भएपछि उनको परिवारले सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग खोजी तथा उद्धार गरीदिन आग्रह गरेको छ।

हिक्मतकी आमाले छोराको अवस्थाबारे जानकारी नपाउँदा आफू निकै पीडामा रहेको बताएकी छन्। सहायक हवल्दार हिक्मत महरा मेरो छोरा हो। रसुवा नाकामा ड्युटीमा खटिएको थियो। बाढीमा परेर हराएको छ। न सास, न लास—केही अत्तोपत्तो छैन। मेरा पाँच छोरी र दुई छोरा छन्। छोरा भनेर बाँचेकी थिएँ,” उनले भावुक हुँदै भनिन्।

परिवारले हिक्मतको सकुशल उद्धारको आशा गर्दै खोजी गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ।