
चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक विपत्तिपछि बेली ब्रिज निर्माणका सामग्रीसहित विभिन्न आपत्कालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। बिहीबार सिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित विशेष कार्यक्रममा सिचाङ स्वायत्त क्षेत्रले पठाएको राहत सामग्री औपचारिक रूपमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो।

सहयोग सामग्रीमा बेली ब्रिज निर्माणका लागि आवश्यक प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक तथा आई–बिमलगायत विशेष उपकरण समावेश छन्। प्राप्त सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने बताइएको छ।
यी सामग्री नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा क्षतिग्रस्त वा अवरुद्ध भएका महत्वपूर्ण यातायात सम्पर्क पुनःस्थापना गर्न प्रयोग गरिनेछ। यसले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


रिजी बन्दरगाहमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी : सुखदुःखमा एकताबद्ध, सिचाङ नेपाललाई सहयोग गर्न तत्पर’ लेखिएको ब्यानरसमेत राखिएको थियो।
यसैबीच, सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच पनि राहत सामग्री हस्तान्तरणसम्बन्धी समारोह आयोजना गरिएको थियो। नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपत्तिको समयमा चीनबाट तत्काल प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगको भावना थप बलियो बनाएको जनाएको छ।































