कृष्णभीर सडक अवरोधपछि काठमाडौँमा ग्यास आपूर्ति वैकल्पिक व्यवस्थाबाट

Image
Nisarga Hospital

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको सम्भावित अभाव टार्न वैकल्पिक आपूर्ति व्यवस्था सुरु गरिएको छ। नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका उद्योगमा ग्यास ‘बोटलिङ’ गरी सिलिन्डर काठमाडौँ ल्याउन अनुमति दिएपछि व्यवसायीले विभिन्न मार्गबाट ढुवानी थालेका हुन्।

CP Hospital Dhangadhi

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार काठमाडौँबाट खाली सिलिन्डर ट्रकमार्फत बाहिर पठाई परासी, हेटौँडा, गैँडाकोट र चितवनलगायतका प्लान्टमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको छ। नेपाल ग्यासले चितवनस्थित प्लान्टबाट दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको जनाएको छ।

Attariya Hospital

सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि आपूर्तिमा अवरोध आएपछि माग एक लाखसम्म पुग्न सक्ने उद्योगीहरूको अनुमान छ। उनीहरूले उपभोक्तालाई आवश्यक परिमाणभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेका छन्।

nawajiwan

यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशनले पनि धादिङको जुगेखोलास्थित प्लान्टतर्फ जाने सडक अवरुद्ध भएपछि निजी ग्यास कम्पनीसँग सहकार्य गरी एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। उद्योगीले भारतबाट पर्याप्त ग्यास आयात भएकाले बजारमा दीर्घकालीन अभाव नहुने र केही दिनमै आपूर्ति सहज हुने बताएका छन्।