
भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा शुक्रबार तालिमप्राप्त कुकुर, ड्रोन तथा विशेष क्यामेराको सहयोगमा ६ शव फेला परेका छन्। नेपाली सेनाले शव बट्टार ल्याएको छ। आयोजनामा कार्यरत १ हजार ४३३ मध्ये ८७६ जनाको उद्धार भए पनि ५५१ जना अझै सम्पर्कविहीन छन्।

उद्धारका लागि कोरियाली टोली, शेर्पा समूह, सर्च तथा ड्रोन टोली परिचालित छन्। आयोजनाले १५ वटा उद्धार मेसिन तथा उपकरण पुर्याएको जनाएको छ भने सुरुङमा पानी निकाल्न पम्प सञ्चालन भइरहेको छ। प्रवर्द्धक तथा निर्माण कम्पनीका व्यवस्थापन टोलीले थप उपकरण लैजान सहजीकरणका लागि गृह सचिवसँग आग्रह गरेका छन्।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा भने खराब मौसम र नदीको उच्च बहावका कारण शुक्रबार उद्धार सुरु हुन सकेन। आवश्यक मेसिनरी धुन्चेसम्म पुगे पनि आयोजनास्थलसम्म पुर्याउन नसकिएको जनाइएको छ। आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्।


३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि १९१ जना हराइरहेका छन्। विद्युतगृह क्षेत्रमा दुई मिटर गहिराइसम्म उत्खनन गर्दा संरचना नभेटिएपछि १२ मिटरसम्म खन्ने तयारी गरिएको छ।
यसैबीच, १० दिनपछि माथिल्लो त्रिशूली–३ ‘ए’ विद्युतगृहबाट सञ्जय साह र कबिर महर्जनको सकुशल उद्धार गरिएको छ। लाङटाङ खोलामा ३९ जना अझै अज्ञात छन् भने चिलिमे, मैलुङखोला र निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाबाट समेत केही व्यक्ति सम्पर्कविहीन छन्।































