
आफ्नो सवारीसाधनलाई सुरक्षित राख्न मानिसहरूले विभिन्न उपाय अपनाउँछन्। तर भारतको बिहारमा एक व्यक्तिले आफ्नो महिन्द्रा स्कर्पियो चोरीबाट जोगाउन अपनाएको अनौठो उपाय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। विदेश जानुअघि उनले क्रेनको सहायताले आफ्नो एसयूभीलाई घरको छतमाथि पुर्याएर पार्क गरेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा महिन्द्रा स्कर्पियो क्लासिकलाई क्रेनमार्फत भवनको छतमा राखिँदै गरेको देखिन्छ। गाडीलाई जमिनमा पार्क गर्दा चोरी वा अन्य क्षति हुन सक्ने आशंकामा मालिकले यस्तो असामान्य उपाय अपनाएको बताइएको छ।
प्राप्त विवरणअनुसार गाडीका मालिक कामको सिलसिलामा विदेश जानुपर्ने भएपछि आफ्नो अनुपस्थितिमा सवारीसाधनको सुरक्षाबारे चिन्तित थिए। उनले गाडी कुनै पार्किङस्थलमा राख्न वा आफन्तको जिम्मा लगाउनुभन्दा घरकै छतमा सुरक्षित राख्ने निर्णय गरे। त्यसपछि क्रेनको प्रयोग गरी गाडीलाई भवनको छतमा पुर्याइएको हो।


भिडियोमा क्रेनले सावधानीपूर्वक स्कर्पियोलाई भवनको माथिल्लो भागमा राखेको दृश्य देखिन्छ। यो उपाय देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमका प्रतिक्रिया जनाइरहेका छन्। कतिपयले मालिकको गाडीप्रतिको मोह भन्दै रमाइलो प्रतिक्रिया दिएका छन् भने केहीले सुरक्षाका लागि अपनाइएको अनौठो तरिकामाथि प्रश्न गरेका छन्।
यद्यपि, घटना बिहारको कुन स्थानमा भएको हो, गाडीका मालिक को हुन् र छतमा सवारी राख्न आवश्यक अनुमति लिइएको थियो वा थिएन भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।































