
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको ११ औं दिनपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवित उद्धार गरिएको छ। नेपाली सेनाले उद्धार गरिएको व्यक्तिको तस्बिर सार्वजनिक गर्दै उनको सफल उद्धार भएको जनाएको हो।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक लुहाइताओ हुन्। उनलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको हो।

यसअघि हिजो अपर त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरिएको थियो।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीमार्फत निर्माणाधीन अवस्थामा रहेको छ। बाढीपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको सुरक्षा निकायले जनाएको छ।































