
कञ्चनपुरको कृष्णपुरका युवाहरूले भदौ १० गतेको बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि तीन दिनमा एक ट्रक राहत सामग्री सङ्कलन गरेका छन्। अभियानका क्रममा ११.६ टन चामल, ६ कट्ठा नुन, १७० पेटी चाउचाउ–बिस्कुट, १४ बोरा आलु, ५१ पेटी पानी, टर्च, चिउरा–भुजा, तेल, कपडा, जुत्ता–चप्पल, सेनेटरी प्याड, डाइपरलगायत सामग्री जुटाइएको अभियानका नेतृत्वकर्ता हरेन्द्र बोहराले बताए।

कृष्णपुरका सबै वडामा युवा परिचालन गरी व्यवसायी, समाजसेवी, भलमन्सालगायत स्थानीयको सहयोगमा राहत सङ्कलन गरिएको हो। टोल–टोलबाट सङ्कलित सामग्री आफ्नै गाडीमार्फत गुलरिया बजारमा जम्मा गरिएको बोहराले बताए।
सङ्कलित राहत रसुवाका बाढीबाट अत्यन्त प्रभावित क्षेत्रमा आफैँ पुगेर वितरण गर्ने युवाहरूको योजना छ। अपेक्षाभन्दा बढी सामग्री सङ्कलन भएपछि १ लाख ३० हजार रुपैयाँमा ट्रक भाडामा लिएर राहत पठाउन लागिएको छ। ट्रक भाडाका लागि विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेका छन् भने अपुग रकम अभियानमा संलग्न युवाहरूले बेहोर्ने बताएका छन्।


राहत सामग्री प्याकिङका लागि रामचन्द्र भट्टले २०० कट्ठा, राकेश चौधरीले १०० कट्ठा र नरेश भण्डारीले १०० कट्ठा सहयोग गरेका छन्। अभियानलाई पारदर्शी बनाउन सङ्कलन तथा खर्चको विवरण व्यवस्थित गरिएको बोहराले बताए।
शनिबार राहत सामग्री काठमाडौं पठाइएको छ। महेन्द्रनगरको मिनी मार्केटबाट सङ्कलित ८ कट्ठा कपडासमेत पठाइएको छ। युवाहरूले काठमाडौं हुँदै प्रभावित क्षेत्रमा पुगेर आफैँ राहत वितरण गर्ने र बाँकी सामग्री सरकारलाई हस्तान्तरण गर्ने जनाएका छन्।































