
अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाब थप बढाउने तयारी गरेका छन्। चार देशले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड अफ गभर्नर्समार्फत इरानले आणविक अप्रसारसम्बन्धी कानुनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाउने प्रस्ताव अघि बढाउन लागेका हुन्।

एएफपीका अनुसार प्रस्ताव हाल वार्ताको चरणमा रहेको छ र आईएईए बोर्डसमक्ष औपचारिक रूपमा प्रस्तुत भइसकेको छैन। प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित सम्बन्धित प्रस्तावहरू सदस्य राष्ट्र, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासभासम्म पुर्याउन आग्रह गरिएको छ।

चार देशले इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई वार्तामा रचनात्मक रूपमा सहभागी हुन आह्वान गरेका छन्। सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक स्थलमा आक्रमण गरेपछि इरानले प्रभावित क्षेत्रमा आईएईएका निरीक्षकलाई प्रवेश दिएको छैन।

आईएईएले निरीक्षणमा अवरोध र आणविक सामग्रीको वास्तविक अवस्थाबारे पुष्टि हुन नसक्नुले आणविक प्रसारसम्बन्धी जोखिम बढाएको चेतावनी दिँदै आएको छ। आईएईएका अनुसार इरानसँग ६० प्रतिशतसम्म समृद्ध पारिएको ४४० दशमलव ९ किलोग्राम युरेनियम रहेको छ। आणविक हतियार निर्माणका लागि सामान्यतया करिब ९० प्रतिशत शुद्धताको युरेनियम आवश्यक मानिन्छ।































