
बझाङः बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार क्षेत्रमा विभिन्न स्थानबाट नगद तथा पशुपक्षी चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ।

भदौ २१ गते बिहान करिब ९ः१० बजे वडा प्रहरी कार्यालय चैनपुरमा चोरीसम्बन्धी छुट्टाछुट्टै निवेदन परेपछि प्रहरी नायब निरीक्षक बहादुर धामीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले चोरीमा संलग्न रहेको आरोप लागेका तीन जनालाई चैनपुर बजारबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–१० का करिब १९ वर्षीय राजन महत, सोही स्थानका करिब १८ वर्षीय आशिक बोहरा र मष्टा गाउँपालिका–४ का करिब १९ वर्षीय रितिक बोहरा रहेका छन्।

प्रहरीमा परेको निवेदनअनुसार उनीहरूमाथि विभिन्न व्यक्तिका घर तथा स्थानबाट नगद र पशुपक्षी चोरी गरेको आरोप छ। जयपृथ्वी नगरपालिका–३ की मिना लामाको २० हजार ५ सय रुपैयाँ र जयपृथ्वी नगरपालिका–१० की पार्वतीकुमारी मल्लको १० हजार रुपैयाँ चोरी भएको निवेदन परेको प्रहरीले जनाएको छ।
त्यस्तै, जयपृथ्वी नगरपालिका–१० का गोविन्द बोहराको २० वटा कुखुरा र १० वटा खरायो तथा सोही स्थानकी सुनिता वलीको ३० वटा कुखुरा चोरी भएको निवेदनमा उल्लेख छ। प्रारम्भिक विवरणअनुसार चोरी भएको नगद मात्रै ३० हजार ५ सय रुपैयाँ रहेको छ भने ५० वटा कुखुरा र १० वटा खरायोसमेत चोरी भएको दाबी गरिएको छ।

नियन्त्रणमा लिइएका तीनै जनालाई वडा प्रहरी कार्यालय चैनपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चोरी भएका पशुपक्षी तथा अन्य सामानको अवस्था, घटनामा थप व्यक्तिको संलग्नता भए–नभएको लगायतका विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।
चैनपुर बजार तथा आसपासका क्षेत्रमा चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ। प्रहरीले अनुसन्धानबाट घटनाको वास्तविकता र चोरी भएको सम्पत्तिको अवस्थाबारे थप तथ्य खुल्ने जनाएको छ।
प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि घटनाको वास्तविक अवस्था सार्वजनिक गरिने बताए।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूलाई आरोप पुष्टि नभएसम्म दोषीका रूपमा नभई चोरीमा संलग्न रहेको आरोप लागेका व्यक्तिका रूपमा मात्र प्रस्तुत गरिएको जनाएको छ।






























