सुदूरको मौलिक संस्कृति जोगाउँदै चन्द्रिकाको ‘सगुना र फाग’ अभियान

Image
Nisarga Hospital

सुदूरपश्चिमको मौलिक पहिचान बोकेको पोशाक, गरगहना र मधुर स्वरमा सगुना तथा फाग प्रस्तुत गर्दै चन्द्रिका जोशीले लोपोन्मुख संस्कृतिको संरक्षणमा सक्रियता बढाएकी छन्। दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी २४ वर्षीया जोशी विज्ञान संकायकी शिक्षिका हुन्।

CP Hospital Dhangadhi

गौरा पर्वमा गाइने सगुना र फागलाई सामाजिक सञ्जालमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले उनले नियमित प्रस्तुति दिँदै आएकी छन्। धार्मिक तथा मांगलिक अवसरमा गाइने यी परम्परागत लोकगीतमा देवी–देवताको स्तुति र धार्मिक भावनालाई विशेष महत्व दिइन्छ।

पछिल्लो समय नयाँ पुस्ताले मौलिक संस्कृति सिक्न चासो नदिँदा र पुरानो पुस्ताबाट हस्तान्तरणको प्रयास कम हुँदा सगुना र फाग लोप हुने जोखिम बढेको जोशीको बुझाइ छ। त्यसैले भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा रामेछापको पटनादेवी माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आए पनि उनले फेसबुकमार्फत सांस्कृतिक अभियानलाई निरन्तरता दिइरहेकी छन्।

nawajiwan
Attariya Hospital

जोशीले गौरा पर्व सुरु हुने पञ्चमीदेखि विसर्जनसम्म गाइने विभिन्न सगुना र फागका अंश सामाजिक सञ्जालमा प्रस्तुत गर्दै आएकी छन्। सानै उमेरदेखि आमा अमता देवी जोशी र हजुरआमा स्व. कौशिला देवी जोशीबाट उनले यी गीत सिकेकी हुन्। उनका बुवा हरिदत्त जोशी ज्योतिषाचार्य भएकाले उहाँबाट पनि सांस्कृतिक ज्ञान हासिल गरेको चन्द्रिका बताउँछिन्।

करिब दुई महिनादेखि सामाजिक सञ्जालमा अभियान चलाइरहेकी उनले आगामी दिनमा पञ्चमी, तीज, विवाहलगायत मांगलिक कार्यमा गाइने सगुना तथा फाग समेटेर पुस्तक प्रकाशन गर्ने तयारीसमेत गरेकी छन्।

सांस्कृतिक अगुवा कलसा महराले चन्द्रिकाको प्रयासलाई सुदूरपश्चिमको संस्कृति संरक्षण र विस्तारमा युवाको महत्वपूर्ण योगदानका रूपमा प्रशंसा गरेकी छन्।