
रमेश बहादुर सिंह /बझाङ:
प्रगतिशील युवा समाज र दलित सहयोग समाजको साझेदारी तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा केदारस्युँ गाउँपालिकामा वर्षभरि सञ्चालन गरिएका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरिएको छ।

केदारस्युँ गाउँपालिकाका वडा नम्बर २ देखि ८ सम्म सञ्चालन हुँदै आएको परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, जीविकोपार्जन, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा गरिएका गतिविधिको स्थलगत अवलोकन तथा समीक्षा गरिएको हो।
परियोजनामार्फत केदारस्युँमा करिब २ हजार ५ सय आरसी बालबालिका लाभान्वित हुँदै आएको कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रममा परियोजनाबाट बालबालिका तथा समुदायमा परेको प्रभाव, हासिल भएका उपलब्धि, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको थियो।

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले परियोजनामार्फत सञ्चालन गरिएका कार्यक्रमले बालबालिका तथा समुदायको शिक्षा, स्वास्थ्य, पोषण र समग्र विकासमा सकारात्मक योगदान पुर्याउँदै आएको बताउनुभयो।

“वर्षभरि सञ्चालन गरिएका कार्यक्रमको उपलब्धि र प्रभावबारे समीक्षा गरेका छौँ। समुदायको आवश्यकता र स्थानीय सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने हाम्रो प्रयास रहनेछ,” अध्यक्ष केसीले भन्नुभयो।
कार्यक्रम केदारस्युँ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नम्बर २ का अध्यक्ष शेरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीलगायत संस्थाका प्रतिनिधि, दलित सहयोग समाज तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकले आगामी दिनमा स्थानीय सरकार, साझेदार संस्था र समुदायबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिका र समुदायको हितमा कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिएको छ।































