
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले अधिकांश भूभागमा मौसम बदली भई विभिन्न स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले चट्याङसहित मध्यम वर्षा भइरहेको छ। गण्डकी र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


सुदूरपश्चिमका तराई भूभागका थोरै तथा अन्य तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र लुम्बिनीका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकीका विभिन्न भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ भने ती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।































