
कञ्चनपुरः कञ्चनपुर प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८ लाख १५ हजार ७ सय रुपैयाँ मूल्यका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमा चिनी, साडी, सुटपिस, थान कपडा, बिस्कुट तथा विभिन्न किराना सामान रहेका छन्। भारतबाट भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका ती सामान बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


बरामद सामानको कुल अन्दाजी मूल्य ८ लाख १५ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ।































