
बाजुरा: सुरक्षित मातृत्वका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि बाजुरामा गर्भवती महिलाले अझै बाटोमै शिशु जन्माउनुपर्ने बाध्यता अन्त्य हुन सकेको छैन। जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश वडामा आधारभूत स्वास्थ्य संस्थाको पहुँच पुगे पनि भौगोलिक विकटता, यातायातको असहजता, सडक अवरोध, जनचेतनाको कमी र अन्धविश्वासका कारण महिलाले जोखिमपूर्ण रूपमा सुत्केरी हुनुपरेको हो।

यसैक्रममा खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले मंगलबार दिउँसो बूढीगङ्गा नगरपालिका–६ स्थित फलासैन बजारमाथिको बाटोमै छोरालाई जन्म दिइन्। स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मी घटनास्थल पुगेर प्रसूति सेवा दिएका थिए। स्वास्थ्यकर्मीका अनुसार बच्चा जन्मिएपछि केही असहज भए पनि केही समयपछि सामान्य अवस्थामा आएको थियो। सालनाल व्यवस्थापन गरी आमा र शिशुलाई स्वास्थ्य संस्थामा लगिएको र अहिले दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार कमलाले माइतीघरमा सुत्केरी हुनुहुँदैन, त्यसो गरे देवता रिसाउँछन् भन्ने रूढीवादी मान्यताका कारण स्वास्थ्य संस्था जानुको सट्टा घरतर्फ फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी हुन्। उनी भदौ १९ गते कृष्ण जन्माष्टमी मनाउन बडीमालिका नगरपालिका–६ कोर्धस्थित माइतीघर पुगेकी थिइन्। त्यहीँ भदौ २२ गते सुत्केरी व्यथा लागेपछि मंगलबार बिहान एक्लै घरतर्फ हिँडेकी थिइन्।

माइतीघरबाट करिब एक घण्टाको दूरीमा रहेको जडाङ्गा स्वास्थ्य चौकी वा करिब दुई घण्टा लाग्ने जिल्ला अस्पताल जानुको सट्टा घर फर्कने क्रममा दिउँसो ३ बजे उनले बाटोमै शिशु जन्माएकी हुन्।
खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश ओलीका अनुसार कमलाले आठ महिनासम्म गुदुखाती स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराएकी थिइन्। स्वास्थ्य संस्था विगतको तुलनामा नजिक र चेतनास्तरमा सुधार भए पनि घर तथा बाटोमै सुत्केरी हुने अवस्था अझै कायम रहेको उनले बताए।

बाजुराका ग्रामीण क्षेत्रमा सडक पुगे पनि वर्षायाममा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने समस्या छ। सडक सञ्चालनमा रहेका बेला पनि नियमित यातायात नहुँदा गर्भवतीलाई डोको, स्ट्रेचर वा बोकेर स्वास्थ्य संस्थासम्म लैजानुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीका अनुसार गत वर्ष जिल्लामा १ हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ जनाले घरमै शिशु जन्माएका थिए। उनका अनुसार प्रसूति नजिकिएपछि मात्र स्वास्थ्य संस्था जाने प्रवृत्ति, स्वास्थ्य संस्था टाढा हुनु, सडकको अभाव, पारिवारिक कामको चाप तथा जनचेतनाको कमीले समस्या बढाएको छ।
प्राप्त विवरणअनुसार यस वर्ष असारयता मात्रै बाजुरामा कम्तीमा पाँच महिलाले बाटोमै शिशु जन्माएका छन्। साउन १० गते गौमूल–५ की कमला बुढा, साउन १५ गते स्वामीकार्तिक खापर–२ की सौरी बुढा र साउन १८ गते सोही गाउँपालिका–३ की अनिता महताराले समेत बाटोमै शिशु जन्माएका थिए।
स्वास्थ्यकर्मीका अनुसार सुरक्षित मातृत्वका लागि नियमित गर्भ जाँचसँगै प्रसूतिको समयअघि स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था, भरपर्दो यातायात, सडक पूर्वाधार र स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्न आवश्यक छ।































