
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आम नागरिकले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा रहिरहनुको औचित्य नभएको बताए।
उनले ग्यास अभावका कारण नागरिकले गम्भीर सास्ती भोगिरहेको भन्दै यस्तो अवस्थामा समितिमा बसेर काम गर्ने नैतिकता आफूले नपाएको बताए।


भण्डारीले भने, “जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन्। यस्तो अवस्थामा उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ।”
उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको आरोप लगाए। जनतालाई समस्या पर्दा प्रभावकारी कदम चाल्न नसक्ने समितिबाट अलग हुनु नै उचित भएको उनको भनाइ थियो।































