
राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १९२३ भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मनुभएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। छोटो जीवनकालमै उहाँले नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो। उहाँकै पहलमा नेपालमा छापाखाना भित्रिएको र त्यसबाट नेपाली पत्रकारिताको सुरुआतमा समेत महत्वपूर्ण योगदान पुगेको मानिन्छ।


जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्दैछन्। नेपाली शिक्षा परिषद्ले आज दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण कार्यक्रम आयोजना गर्ने जनाएको छ।
साहित्य र पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएका मोतीराम भट्टको जन्मजयन्तीलाई नेपाली साहित्य क्षेत्रले विशेष महत्वका साथ मनाउँदै आएको छ।































