बाजुरामा सेवाग्राहीलाई सहज सेवा दिन प्रहरी कार्यालयमा ‘भिजिटर पास’ व्यवस्था

Image
Nisarga Hospital

बाजुराको जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीलाई प्रहरी सेवा सहज, छिटोछरितो र व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले ‘भिजिटर पास’को व्यवस्था गरेको छ। कार्यालयमा आउने सेवाग्राहीको पहिचान तथा प्रवेशलाई व्यवस्थित बनाउन पास प्रणाली लागू गरिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले सेवाग्राहीलाई पास प्रदान गर्दै उक्त सेवाको सुरुआत गरेकी हुन्। उनका अनुसार कार्यालय प्रवेश गर्ने सेवाग्राहीले आफ्नो आवश्यक विवरण खुलाएपछि काम र जाने शाखाका आधारमा पास उपलब्ध गराइनेछ।

नागरिक सहायता कक्षबाट सेवाग्राहीको काम र सम्बन्धित शाखाबारे जानकारी लिएर पास दिने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताइन्। सेवा लिएर कार्यालयबाट फर्किँदा उक्त पास नागरिक सहायता कक्षमै बुझाउनुपर्नेछ।

nawajiwan
Attariya Hospital

भिजिटर पास प्रणालीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको पहिचान गर्न सहज हुनुका साथै कार्यालय परिसरमा हुने अनावश्यक भीडभाड र अव्यवस्थित आवागमन नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी तथा निवेदन, मुद्दासम्बन्धी काम, प्रशासनिक सेवा, विभिन्न सिफारिसलगायतका कामका लागि दैनिक रूपमा सेवाग्राही आउने गरेका छन्। नागरिकलाई प्रहरी सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कार्यालयले विभिन्न सुधारका प्रयास गर्दै आएको जनाएको छ।