
कृष्णपुर: ब्लूमफिल्ड एकेडेमीको आयोजनामा तथा गोदावरी आविष्कार केन्द्र (GiC) को प्राविधिक साझेदारीमा सञ्चालित १६औँ छुकछुके रोबोट कार्यशाला–२०८३ भदौ १८ गतेदेखि सुरु भई भदौ २५ गते सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालयका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षालाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यशालामा गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक इन्जिनियर सम्राट भट्ट ले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले रोबोटको डिजाइन, यान्त्रिक संयोजन (Mechanical Assembly), गियर तथा गियर अनुपात, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा रोबोट सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रमका अवसरमा विद्यालयका प्राचार्य श्री अन्तराम बिष्ट, जो सुदूरपश्चिमका चर्चित देउडा तथा लोकगायकका रूपमा समेत परिचित हुनुहुन्छ, ले वर्तमान शिक्षामा केवल सैद्धान्तिक ज्ञान पर्याप्त नहुने बताउँदै विज्ञान र प्रविधिको प्रयोगात्मक तथा सीपमूलक शिक्षाको आवश्यकता माथि विशेष जोड दिनुभयो। उहाँले यस्ता कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता तथा नवप्रवर्तनप्रतिको रुचि विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।


कार्यशालाको अन्तिम दिन आयोजना हुने समापन कार्यक्रम वर्षाका कारण केही समयका लागि स्थगित भए पनि भदौ २५ गते सफलतापूर्वक सम्पन्न गरिएको थियो। समापन कार्यक्रममा विद्यार्थीहरूले आफूले निर्माण गरेका छुकछुके रोबोटहरूको प्रस्तुति दिएका थिए भने रोबोट फुटबल प्रतियोगिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यशालाभर विद्यार्थीहरूले सिकाइसँगै मनोरञ्जनको समेत अनुभव गरेका थिए। सहभागी विद्यार्थीहरूले रोबोट निर्माण, प्रोग्रामिङ तथा टोलीगत कार्यमार्फत नयाँ सीप र अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।
ब्लूमफिल्ड एकेडेमी र गोदावरी आविष्कार केन्द्रबीचको सहकार्यमा सम्पन्न यो कार्यक्रमले विद्यालय तहमा STEAM शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई भविष्यको प्रविधिमैत्री संसारका लागि तयार पार्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।































