अत्तरियाको उद्योग वाणिज्य संघको भवनका लागि ४० लाख बजेट माग

Image
Nisarga Hospital

अत्तरिया उद्योग वाणिज्य संघले आफ्नो प्रशासनिक भवनको बाँकी निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग ४० लाख रुपैयाँ बजेट माग गरेको छ। संघका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टसँग भेट गरी भवनको माथिल्लो तला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेका हुन्।

CP Hospital Dhangadhi

संघका अध्यक्ष कमल कडायतका अनुसार मुख्यमन्त्री भट्ट तथा भौतिक विकास राज्यमन्त्री जानकीदेवी कुँवरसँग भेट गरी बजेट माग गरिएको हो। संघले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाउँदै प्रशासनिक भवनको माथिल्लो तला निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन आग्रह गरेको छ।

पत्रमा संघ २०७१ सालमा विधिवत् दर्ता भई व्यवसायीको हकहितसँगै कला, संस्कृति, पर्यटन तथा क्षेत्रको समग्र विकासमा काम गर्दै आएको उल्लेख छ। गोदावरी नगरपालिकाभित्र व्यापार–व्यवसाय सञ्चालन गर्दै राज्यलाई प्रत्यक्ष कर तिर्ने करिब २ हजार ४ सय व्यवसायी संघमा आबद्ध रहेको जनाइएको छ।

nawajiwan
Attariya Hospital

संघका अनुसार भवन निर्माणमा व्यवसायी, विभिन्न निकाय, गोदावरी नगरपालिका तथा केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोग रहेको छ। हालसम्म भवनको तल्लो तला निर्माण भइसकेको छ। करिब ५ सय जना अट्ने सभाहलसहितको तल्लो तला बने पनि प्रशासनिक कामका लागि थप स्थान आवश्यक भएकाले माथिल्लो तला निर्माण गर्ने योजना रहेको अध्यक्ष कडायतले बताए।

आर्थिक अभावका कारण माथिल्लो तला निर्माण सुरु गर्न नसकिएको भन्दै कडायतले प्राविधिक अनुमानअनुसार करिब ४० लाख रुपैयाँ लागत लाग्ने जानकारी दिए। सोहीअनुसार बजेट विनियोजन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको उनले बताए।

यसैबीच, संघका पदाधिकारीले नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।