
कैलालीको त्रिनगर नाका भएर हुने आवागमन बाढीका कारण बन्द गरिएको छ। भारतको पलिया–गौरीफन्टा सडकखण्डअन्तर्गत वंशीनगर नजिक रपटा पुलमा बाढी आएपछि आवागमन पूर्ण रूपमा रोकिएको हो।

पुलमा पानीको बहाव बढेपछि सुरक्षालाई मध्यनजर गर्दै भारतीय प्रशासनले आवागमन बन्द गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनका अनुसार बुधबारदेखि नै नाका बन्द छ। आवागमन रोकिएपछि मालबाहक तथा यात्रुबाहक सवारीसाधन बाटोमै रोकिएका छन्। त्रिनगर नाका हुँदै हुने ग्यास आयातसमेत प्रभावित भएको छ।

बाढीका कारण सीमा क्षेत्रमा आवतजावत ठप्प हुँदा यात्रु तथा व्यवसायी समस्यामा परेका छन्। प्रशासनले पुलमा पानीको बहाव घटेपछि मात्र आवागमन सुचारु हुने जनाएको छ।
































