
अमेरिका–इरानबीचको सैन्य तनाव बढिरहेका बेला खाडी क्षेत्रका परराष्ट्रमन्त्रीहरूले स्ट्रेट अफ हर्मुजबाट हुने जल यातायात सहज बनाउन इरानसँग छलफल गर्ने भएका छन्। ओमान र इरानको पहलमा सोमबार ओमानको सलालाहमा बैठक हुने तयारी छ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यमा इरानमाथि संयुक्त आक्रमण सुरु गरेयता खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीको इरानसँग यो पहिलो भेट हुनेछ। इरान र ओमानले हर्मुजमार्फत पानीजहाज आवागमनका लागि अस्थायी व्यवस्था गर्न छलफल अघि बढाएका छन्।
प्रस्तावअनुसार पानीजहाज इरानी जलक्षेत्र हुँदै हर्मुज प्रवेश गरी मुख्यतः ओमानी भूभागतर्फबाट बाहिरिने व्यवस्था गरिनेछ। तर हर्मुज पूर्ण रूपमा खुलाउन अमेरिका र इरानबीच सहमति आवश्यक हुने बताइएको छ।


पछिल्ला दिनमा अमेरिका र इरानबीच एकअर्काका सैन्य तथा रणनीतिक संरचनामा आक्रमण जारी छ। इरानसँग सम्बन्धित यमनको हुथी समूहले पनि साउदी अरबका तेल खानी तथा ऊर्जा पूर्वाधार र सहरलाई लक्षित गरी आक्रमण गरेको छ।
बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। यस्तो अवस्थामा तेल आपूर्ति र जल यातायातलाई सहज बनाउन हर्मुज अस्थायी रूपमा खुलाउने विषयमा खाडी राष्ट्रहरूले इरानसँग वार्ता गर्न लागेका हुन्।































