
कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसको पार्टी एकीकरणका लागि दबाब दिने उद्देश्यले आसन्न दुवै महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको छ। गौरीगंगा–८, मसुरियामा बसेको अगुवा कार्यकर्ता भेलाले पार्टी एकीकरण नभएसम्म गगन पक्ष र देउवा पक्षबाट हुने कुनै पनि महाधिवेशनमा सहभागी नहुने घोषणा गरेको हो।

भेलामा गौरीगंगा नगरबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, नगर कार्यसमिति तथा वडा सभापतिहरूको सहभागिता रहेको थियो।

पार्टीभित्र देखिएको विभाजन र गुटगत गतिविधिले संगठनलाई कमजोर बनाएको भन्दै एकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूले बताएका थिए। उनीहरूले पार्टी एकीकरणपछि मात्रै महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।

भेलाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन नेतृत्वलाई दबाब दिने निर्णयसमेत गरेको छ। पार्टी एकीकरण नभएसम्म गौरीगंगा कांग्रेसका तर्फबाट दुवै पक्षका महाधिवेशनमा कुनै पनि प्रतिनिधि सहभागी नहुने स्पष्ट गरिएको छ।































