
धनगढीः नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन तथा तल्लो तहका अधिवेशन सम्पन्न गराउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारीका लागि गठित सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमार्फत प्रतिनिधि तोकिएको जानकारी दिइएको हो।

सुदूरपश्चिमका नौवटै जिल्लामा पनि अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित प्रतिनिधि खटाइएको छ। कैलालीमा देवराज जोशी, कञ्चनपुरमा प्रदीप देउवा, डडेल्धुरामा टेकबहादुर रैका, बैतडीमा चित्तामणि भट्ट, दार्चुलामा सन्तोष ऐतवाल, अछाममा कबिराज पण्डित, डोटीमा अर्जुन ताम्रकार, बझाङमा सिताराम जोशी र बाजुरामा हर्कजंगबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ।

इतर समूहले महाधिवेशन सफल बनाउन पार्टीका सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेको छ। क्रियाशील सदस्य तथा शुभेच्छुकलाई समेत अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ।

भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशन प्रक्रिया तथा नेतृत्वलाई लिएर विवाद कायम रहेका बेला इतर समूहले छुट्टै तयारी अघि बढाएको हो।






























