सुदूरपश्चिमलाई औद्योगिक हब बनाउने मुख्यमन्त्री भट्टको प्रतिबद्धता, निजी क्षेत्रसँग सहकार्यमा जोड

Image
Nisarga Hospital

धनगढी: कैलाली उद्योग वाणिज्य संघको ५२औँ वार्षिक साधारणसभा धनगढीमा सम्पन्न भएको छ। संघका अध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका हुन्। साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन्। आफूहरू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनको भनाइ थियो।

CP Hospital Dhangadhi

‘हामी भरखरै आएका छौँ, अहिले बजेट निर्माणको चरणमा छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौँ। निजी क्षेत्र सरकारसँग सहकार्य गर्न आउनुपर्छ।’ उनले सुदूरपश्चिम प्रदेशलाई अब औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए। प्रदेशमा रहेका सम्भावना र स्रोतसाधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

Attariya Hospital

साधारणसभामा संघका अध्यक्ष पुष्करराज ओझाले आफ्नो करिब एक वर्षे कार्यकालमा व्यवसायीको हितलाई केन्द्रमा राखेर विभिन्न काम गरिएको जानकारी दिए। व्यवसायीको सुरक्षा, राहत तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुका साथै व्यवसायीका लागि बिमा कार्यक्रमसमेत अघि बढाइएको उनले बताए। ओझाले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको उल्लेख गरे। व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधान गर्न सरकारको थप सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

nawajiwan

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण शर्मा, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना, सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरलगायतले शुभकामना मन्तव्य दिएका थिए। वक्ताहरूले सुदूरपश्चिमको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए। उनीहरूले लगानीको वातावरण सुधार, उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण, व्यवसायीका समस्या समाधान तथा प्रदेशमा रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

वार्षिक साधारणसभामा संघको विगत एक वर्षको गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो। साधारणसभा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको हो।