
हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परासँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदैछ। दरमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा खाने चलन छ। धर्मशास्त्रअनुसार भोलिपल्ट निराहार व्रत बस्ने भएकाले आज राति दुई भाग बाँकी रहँदै दर खाइसक्नुपर्ने मान्यता छ।
तीज धार्मिक आस्थासँगै महिलाले आफ्ना दुःख, पीर, मर्का र भोगाइ गीत तथा भाकामार्फत व्यक्त गर्ने पर्वका रूपमा पनि स्थापित छ। जन्मघर छाडेर कर्मघर पुगेका महिलाले तीजका गीतमार्फत जीवनका सुख–दुःख सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ।
तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा तथा पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले इच्छाविपरीत विष्णुसँग विवाह गराउन खोजेपछि साथीहरूले उनलाई लुकाएर राखेको र त्यही क्रममा पार्वतीले निराहार व्रत बसेको कथा पुराणमा उल्लेख छ। पार्वतीलाई साथीहरूले ‘हरण’ गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया परेकाले पर्वको नाम ‘हरितालिका’ रहेको धार्मिक विश्वास छ।
यद्यपि पछिल्ला वर्षमा तीजका नाममा महिनौँअघिदेखि दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तडकभडक बढ्ने क्रमले पर्वको मौलिकता र सांस्कृतिक पक्ष कमजोर बन्न थालेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन ।

































