
इन्डोनेसियामा २४० जना यात्रु सवार यात्रुवाहक जहाज आइतबार जाभा सागरमा बेपत्ता भएको छ। पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिनतर्फ जाँदै गरेको ‘भर्गो ट्रान्सपोर्ट ८’ जहाज सञ्चार प्रणालीमा खराबी आएपछि सम्पर्कविहीन भएको हो।

बन्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार जहाजको अन्तिम लोकेसन बन्जारमासिनको बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा जाभा सागरमा देखिएको थियो। उद्धार टोलीले उक्त क्षेत्रमा तीव्र खोजी गरिरहेको छ। हालसम्म जहाजमा सवार यात्रुको अवस्था वा सम्भावित हताहतीबारे कुनै जानकारी प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

इन्डोनेसियामा यसअघि पनि ठूला समुद्री दुर्घटना भएका छन्। सन् १९८१ मा ‘ताम्पोमास–२’ जाभा सागरमा डुब्दा करिब ४३० जनाको मृत्यु भएको थियो। सन् २००६ मा ‘सेनोपाती नुसन्तारा’ फेरी खराब मौसमका कारण डुब्दा ४०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए। सन् २००७ मा ‘लेभिना–१’ मा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१८ मा ‘लेस्तारी माजु’ दुर्घटनामा ३६ जनाको ज्यान गएको थियो।

करिब १७ हजार टापु रहेको इन्डोनेसियामा टापुबीच आवतजावतका लागि फेरी र यात्रुवाहक जहाज प्रमुख साधन हुन्। भारी वर्षा, हुरीबतास, उच्च समुद्री छालसँगै क्षमताभन्दा बढी यात्रु बोक्ने, सुरक्षा उपकरणको कमी र मापदण्ड पालनामा कमजोरीले समुद्री दुर्घटनाको जोखिम बढाउने गरेको छ।































