
एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गरिरहेको १८ किलोमिटर प्रसारण लाइनको निर्माण ९ महिनामै सम्पन्न गरेको छ। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन खण्ड आइतबार निर्माण सम्पन्न भएको हो। तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा यसको शिलान्यास गरेका थिए।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको विद्युत् आवश्यकतालाई ध्यानमा राख्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए।


एमसीए–नेपालले भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा निर्माण सम्झौता गरेको थियो। १ करोड २३ लाख ८० हजार अमेरिकी डलर लागतमा २१ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा निकै अगावै निर्माण पूरा भएको हो।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि वैदेशिक सहायता पुनरावलोकन गर्दै केही समय सहायता रोकिएपछि आयोजनाको कार्यान्वयनसमेत प्रभावित भएको थियो।
बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माणसँगै नेपालको दोस्रो सीमापार प्रसारण लाइनको यो खण्ड तयार भएको छ। एमसीसी अनुदानअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ। थप तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने ४०० केभी सबस्टेसन र सडक सुधार आयोजना पनि अघि बढिरहेका छन्।































