
दार्चुलामा सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आठ आरोपीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले जिल्ला अदालत दार्चुलाले गरेको थुनामा राख्ने आदेश बदर गर्दै जनही एकदेखि दुई लाख रुपैयाँसम्म धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो। न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ धरौटी तोकेको छ।
यस्तै, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही एक लाख ५० हजार तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। धरौटी नगद, बैंक ग्यारेन्टी वा जेथा जमानतका रूपमा बुझाउन सकिने अदालतको आदेशमा उल्लेख छ।


प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्यु हुनुअघि उनले सामाजिक सञ्जालमा हाल मुद्दा खेपिरहेका आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका थिए। सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
यसअघि विद्यालयकी एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक शिक्षक पक्राउ परेका थिए। उक्त घटनामा आफूलाई समेत बलात्कार मुद्दामा फसाउने षड्यन्त्र भएको धामीले दाबी गरेका थिए। उच्च अदालतको आदेश औपचारिक रूपमा कारागारमा पुगेपछि रिहाइ प्रक्रिया अघि बढाइने जनाइएको छ।































