
कैलालीको गोदावरी नगरपालिका–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा साताव्यापी वृक्षरोपण अभियान सुरु भएको छ। विश्वविद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियानमा विभिन्न संघसंस्था, राजनीतिक दल तथा समुदायको उत्साहजनक सहभागिता देखिएको छ।

अभियानको पहिलो दिन लायन्स क्लब, नेपाली सेनालगायतका संस्थाले विश्वविद्यालय परिसरमा करिब पाँच सय ५० वटा बिरुवा रोपेका थिए। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर कमिटीले पनि परिसरमा करिब २५० वटा बिरुवा रोपेको छ।

परिसरमा लिची, आँप, अम्बा, जामुनलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको जनाइएको छ। विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले विश्वविद्यालय परिसरलाई हरियालीयुक्त बनाउने अभियानमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताए। उनले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उनका अनुसार वृक्षरोपण अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ। अभियानमा विभिन्न संघसंस्था तथा समुदायको सहभागिता बढ्दै गएको उनले बताए।
रास्वपा गोदावरी नगर कमिटीले वृक्षरोपण अभियानलाई निरन्तरता दिने जनाएको छ। रास्वपाका पूर्व प्रदेश वन तथा वातावरण प्रमुख लोकेन्द्र भट्टले विश्वविद्यालय परिसरमा सोमबार पनि वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि बिरुवा रोप्नु मात्र पर्याप्त नभई रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा पनि ध्यान दिनुपर्ने बताए। अभियानलाई साताभर निरन्तरता दिइने जनाइएको छ।































