
आज भाद्र शुक्ल पक्षको तृतीया तिथिमा हिन्दू धर्मावलम्बी महिलाले देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। यस दिन विवाहित महिलाले पतिको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै र अविवाहित महिलाले सुयोग्य वरको कामनासहित व्रत बस्ने परम्परा छ। शिव–पार्वतीको पूजा तथा उपासना गर्दा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।


पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका सखीहरूले उनलाई गुप्त स्थानमा लगेर लुकाएका थिए। त्यहीँ पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिको रूपमा प्राप्त गरेको मान्यता छ। सखीहरूले पार्वतीलाई हरण गरेकाले ‘हरितालिका’ नाम रहन गएको धर्मशास्त्रीय मत छ।
तीजका अवसरमा महिलाहरू भेला भएर नाचगान गर्दै आफ्ना भावना र अनुभवसमेत व्यक्त गर्ने गर्छन्। तीजका गीतमा धार्मिक भक्तिसँगै महिलाका सामाजिक तथा व्यक्तिगत पीडा र मनोभावना अभिव्यक्त हुने गरेका छन्।
धार्मिक मान्यताअनुसार हरितालिका व्रत निराहार, जलाहार वा फलाहारमध्ये स्वास्थ्यअनुकूल विधिबाट बस्न सकिन्छ। स्वास्थ्य कमजोर भएका वा निराहार बस्न नसक्नेले पानी, दूध, फलफूल, कन्दमूललगायत सेवन गर्न सक्ने उल्लेख छ। औषधि सेवन गर्दा व्रत भङ्ग नहुने धार्मिक ग्रन्थमा उल्लेख भएकाले आफ्नो स्वास्थ्य अवस्थालाई प्राथमिकता दिनुपर्ने बताइएको छ। साथै, व्रत बस्दा शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।































