
सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजले विभिन्न शैक्षिक पदमा ९ जना जनशक्ति माग गरेको छ। सङ्कायले करार सेवामा सह–प्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो।


सूचनाअनुसार फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजीमा एक–एक जना सह–प्राध्यापक माग गरिएको छ। यस्तै माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयमा एक–एक जना उपप्राध्यापक तथा नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा एक–एक जना प्रशिक्षक आवश्यक रहेको विश्वविद्यालयले जनाएको छ।
योग्यता पुगेका नेपाली नागरिकले २०८३ साल भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुकले स्वास्थ्य विज्ञान सङ्कायमा स्वयं उपस्थित भएर वा अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन फाराम सङ्कायको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ।
उम्मेदवारको छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। आवेदनका लागि परीक्षा दस्तुर १ हजार ५०० रुपैयाँ तोकिएको छ। लिखित परीक्षाको मिति भने पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ। करार सेवाका लागि माग गरिएका पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले निर्धारित समयभित्र आवेदन दिन विश्वविद्यालयले आग्रह गरेको छ।
































