डीपीआरअनुसार आधुनिक स्वरूपमा बन्दैछ अत्तरिया बसपार्क, प्रदेशकै प्रमुख यातायात केन्द्र बनाउने लक्ष्य

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट पोइन्टका रूपमा विकास हुँदै गएको कैलालीको अत्तरिया क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको प्रदेशस्तरीय बसपार्क निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ। बसपार्क निर्माणका लागि आवश्यक जग्गासम्बन्धी विवाद समाधान हुँदै गएपछि अत्तरियाको व्यवस्थित विकास र समृद्धिको आधार तयार हुँदै गएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले वनसँग सम्बन्धित विवाद तथा समस्या समाधान भई आवश्यक जग्गा हस्तान्तरण हुन सके अत्तरियामा बसपार्क निर्माणको प्रक्रिया अघि बढाउने बताएका छन्। उनले नेपाली सेनाले आफ्नो क्षेत्र छुट्याएर तारबार गरिसकेको जानकारी दिँदै अब वन क्षेत्रसम्बन्धी विषय पनि समाधान भए बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने बताए।

यसअघि अत्तरियामा बसपार्क निर्माणका लागि नेपाली सेना, वन क्षेत्र तथा स्थानीय तहबीच जग्गासम्बन्धी विषय चुनौतीका रूपमा रहँदै आएको थियो। लामो समयदेखि करिब साढे १७ हेक्टर जग्गामाथि आफ्नो भोगाधिकार रहेको दाबी गर्दै आएको नेपाली सेनाले पछिल्लो समय बसपार्क, बस्ती र लामिताल क्षेत्र छाडेर आफ्नो क्षेत्र छुट्याउँदै तारबार गरेको थियो। यससँगै बसपार्क निर्माणका लागि देखिएका केही प्रमुख अवरोध हट्ने अपेक्षा गरिएको छ।

nawajiwan

यता, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरियामा प्रदेशस्तरीय बसपार्क निर्माणका लागि स्थानीय सरकार र दुर्गालक्ष्मी सामुदायिक वनबीच सहमति भइसकेको बताएका छन्। उनका अनुसार बसपार्क निर्माणका लागि सहमति सहितको पत्र प्रदेश सरकारसमक्ष पठाइसकिएको छ। स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यमा गत वर्ष नै ३४ करोड बजेटबाट निर्माण हुने बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको उनले जानकारी दिए।

नगर प्रमुख भट्टले प्रदेश सरकारले बजेट सुनिश्चितता गरिदिए बसपार्क निर्माणको काम अघि बढ्नेमा आफू आशावादी रहेको बताए। उनका अनुसार अत्तरिया सुदूरपश्चिमका नौवटै जिल्लासँगै देशका विभिन्न क्षेत्रबाट आउने यात्रुवाहक बस तथा अन्य सवारीसाधन आवतजावत गर्ने महत्वपूर्ण केन्द्र हो। त्यसैले यहाँ व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्नु समयको अपरिहार्य आवश्यकता भएको उनको भनाइ छ।

Attariya Hospital

“अत्तरिया क्षेत्र सुदूरपश्चिमका सबै जिल्लाबाट आउने यात्रुवाहक बस तथा अन्य सवारीसाधन आवतजावत गर्ने मुख्य प्रवेश क्षेत्र हो। त्यसैले यहाँ व्यवस्थित बसपार्क अहिलेको अपरिहार्य आवश्यकता हो,” नगर प्रमुख भट्टले भने।

अत्तरिया बसपार्क निर्माणको विषयलाई नगर प्रमुख भट्टले स्थानीय विकाससँग मात्र नभई समग्र अत्तरियाको व्यवस्थित विकास र आर्थिक गतिविधिसँग जोडेर अघि बढाइरहेका छन्। प्रदेश सरकारसँग समन्वय, वनसँग सहमति तथा आवश्यक पूर्वाधारका लागि डीपीआर तयार पार्ने काम यसै प्रक्रियाका महत्वपूर्ण चरण हुन्।

यसैबीच मन्त्री भाटले सुदूरपश्चिम प्रदेशको राजधानीसँग सम्बन्धित आवश्यक संरचनाहरूको निर्माण कार्यसमेत चालु आर्थिक वर्षमै अघि बढाउने बताएका छन्। राजधानीका आवश्यक संरचनालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ।

अत्तरिया पछिल्लो समय व्यापार, यातायात, शिक्षा, स्वास्थ्य तथा आवासीय गतिविधिका कारण तीव्र गतिमा विस्तार भइरहेको क्षेत्र हो। त्यसैले बसपार्क निर्माणसँगै सडक, यातायात, बजार व्यवस्थापन र अन्य सार्वजनिक पूर्वाधारको विकासलाई पनि क्रमशः अघि बढाउन सके अत्तरिया सुदूरपश्चिमकै व्यवस्थित र आधुनिक शहरी केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

यसरी हेर्दा अत्तरियाको विकासमा स्थानीय सरकारको पहल, प्रदेश सरकारको सहकार्य र आवश्यक जग्गासम्बन्धी विवाद समाधान हुँदै जानु सकारात्मक संकेत बनेका छन्। बसपार्क निर्माणको कामले गति लिएसँगै अत्तरियाको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै व्यापारिक गतिविधि र समग्र शहरी विकासले थप गति लिने विश्वास गरिएको छ।