
बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन्। भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न भन्दै घरबाट निस्किएका खड्का साँझसम्म फर्किने बताएका थिए। तर, उनी अहिलेसम्म घर नफर्किएको परिवारले जनाएको छ।

खड्का नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सीमामा पर्ने भएकाले खोजीमा कठिनाइ भइरहेको बताइएको छ। साथै, उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा थप समस्या भएको खड्काका काका फिट्टु खड्काले जानकारी दिए।

छ दिन बितिसक्दा पनि खड्काको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवार चिन्तित बनेको छ। परिवारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।

सम्भव भएसम्म आवश्यक जनशक्ति परिचालन गरी प्रविधिको प्रयोगबाट खोजी गर्न परिवारले अपिल गरेको छ। खड्काबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिनसमेत आग्रह गरिएको छ।































