
देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको अवस्था देखिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेस, कोशी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।






























