
भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन्। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ।
हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्र सनाखत भएको छ। पहिचान हुन बाँकी शवको सनाखतका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये विभिन्न ३३ होल्डिङ सेन्टरमा नागरिकलाई राखिएको छ। नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना होल्डिङ सेन्टरमा रहेका छन्।

यस्तै, विभिन्न १९ अस्पतालमा उपचार गराइएका ३४१ जनामध्ये २७८ जना डिस्चार्ज भएका छन्। सुरक्षा निकायमार्फत थप ९ हजार ३५८ जनाले स्वास्थ्य सेवा लिएका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले १५० जना परामर्शदाता परिचालन गरेको छ। नेपाल प्रहरीले सञ्चालन गरेका १६६ सामुदायिक जनचेतना कार्यक्रमबाट ४५ हजार २३८ जनालाई परामर्श दिइएको छ।
बेपत्ता नागरिकको खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ।






























