
मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगिसकेका छन्।


घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था गरिएको छ। सम्मेलन व्यवस्थापनमा गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको छ।
सम्मेलनस्थलमै आमा समूहले बिहानको खाजा, खाना र दिउँसोको खाजाको व्यवस्था गर्नेछ भने बेलुकीको खाना तथा आवासका लागि गाउँपालिकाले तोकेका होटलमा व्यवस्था मिलाइएको छ।
सम्मेलनलाई भव्य बनाउन पाँचवटै वडा सडक तथा बस्तीलाई स्थानीय मौलिक कला र संस्कृतिसहितका ध्वजापतङ्गाले सजाइएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरी झिलिमिली बनाइएको छ। स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ भने खानेपानी, इन्टरनेट, विद्युत्, पार्किङ र ट्राफिक व्यवस्थापनमा समेत पूर्वतयारी गरिएको छ।
जोमसोम कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम तथा आवश्यक सजावट पूरा गरिएको छ। जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले सम्मेलनस्थलमा २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ आकृति राखिएको छ।
मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसारका लागि ५० भन्दा बढी स्टलसमेत राखिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनका असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ।






























