आज गणेश चतुर्थीः देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

Image
Nisarga Hospital

विघ्नहर्ता तथा अग्रपूजाका अधिकारी भगवान् श्री गणेशको जन्मोत्सवका रूपमा आज गणेश चतुर्थी देशभर श्रद्धापूर्वक मनाइँदैछ। राजधानीसहित देशका प्रमुख गणेश मन्दिरमा बिहानैदेखि पूजा–आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।

CP Hospital Dhangadhi

शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ।

शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक तथा शुभकार्यमा अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा पूजा गरिन्छ। धर्मशास्त्रविद्का अनुसार हरितालिका तीजको व्रत तथा पारायणपछि चतुर्थीका दिन जीवनमा विघ्न नआओस् र सुख–शान्ति कायम होस् भन्ने कामनासहित गणेशको पूजा गर्ने परम्परा छ।

nawajiwan
Attariya Hospital

मङ्गलबार परेको यस वर्षको गणेश चतुर्थीलाई थप विशेष मानिएको छ। यस दिनलाई ‘मङ्गल चतुर्थी’समेत भनिन्छ। नेवार समुदायले भने गणेश चतुर्थीलाई ‘चथा पर्व’का रूपमा मनाउने गर्छ। यस अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा पनि रहेको छ।

राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रमसहित गणेश चतुर्थी मनाउँदै आएको छ। धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार आज विभिन्न गणेश मन्दिरमा पूजा–आराधनासँगै प्रवचन कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय धर्मसभाले हरेक वर्ष गणेश रथयात्रासमेत गर्दै आएको छ। यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजै परेको भन्दै गणेश रथयात्रा पनि आजै आयोजना गरिने जनाइएको छ।