
हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या साडीले साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमानमार्फत यमनका ताइज, लहज, जौफ, मारिब र होदैदा क्षेत्रलाई निशाना बनाएको बताएका छन्।

हुथीहरूको यो दाबी उनीहरू रातो सागरको तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेका बेला सार्वजनिक भएको हो। बीबीसी फारसीका अनुसार हुथीहरूले सोमबार साउदी अरबका सैन्य अखडामा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबीसमेत गरेका छन्।
हुथीहरूले पछिल्ला दिनमा रातो सागरको तट तथा बाब अल–मन्देब जलडमरूमध्यमा नियन्त्रण कायम गरेको दाबी गरेका छन्। यद्यपि, उनीहरूले गरेको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।


रातो सागर र बाब अल–मन्देब विश्वव्यापी समुद्री व्यापारका लागि महत्वपूर्ण जलमार्ग मानिन्छन्। पछिल्लो समय क्षेत्रीय तनाव र विभिन्न पक्षबीचको सैन्य गतिविधिका कारण यी समुद्री मार्गको रणनीतिक महत्त्व थप बढेको छ।
विशेषगरी होर्मुज जलडमरूमध्यसमेत प्रभावित बनेको अवस्थामा रातो सागर र बाब अल–मन्देबको सुरक्षा तथा नियन्त्रणलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ। यमनमा लामो समयदेखि जारी द्वन्द्वका कारण साउदी अरब र हुथीबीचको तनावले क्षेत्रीय सुरक्षामा समेत प्रभाव पार्दै आएको छ।






























