
अत्तरियाः वान वे डान्स क्याम्पको आयोजनामा सञ्चालन भइरहेको ‘डिस्ट्रिक्ट लेभल स्कुल डान्स कम्पिटिसन–सिजन ३, २०८३’ को उद्घाटन भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले गरेका हुन्। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
वान वे डान्स क्याम्पका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय तथा क्षेत्रबाट सहभागी करिब ५०० विद्यार्थीमध्ये विभिन्न चरणको छनोट प्रक्रियाबाट ७० जना प्रतिस्पर्धी छनोट भएका थिए। तीमध्येबाट उत्कृष्ट प्रदर्शन गर्ने ३५ जना विद्यार्थीलाई थप प्रतिस्पर्धाका लागि छनोट गरिएको छ।


प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका नृत्य प्रतिभालाई उजागर गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। छनोट भएका ३५ जना प्रतिस्पर्धीको प्रस्तुति आगामी चरणमा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको औपचारिक यात्रा २०८३ साल साउन १५ गतेदेखि सुरु भएको हो। विभिन्न चरण पार गर्दै अघि बढिरहेको प्रतियोगिताको फाइनल कार्यक्रम आगामी असोज महिनाको अन्त्यतिर भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
आयोजक वान वे डान्स क्याम्पले उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि, अतिथिहरू, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।






























