
गएराति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा संखुवासभाको टाँसीगाउँमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा मापन गरिएको छ।

त्यस्तै, तनहुँको थप्रेकमा १५७ मिलिमिटर, स्याङ्जाको डण्डस्वारामा १२७ मिलिमिटर वर्षा भएको छ। कास्की, लमजुङ र गोरखाका केही स्थानमा पनि ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
हाल गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र तथा आसपासमा थप वर्षा हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, सडक तथा यातायात प्रभावित हुन र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।





























