
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई आसपास केन्द्रविन्दु भएर बिहान १ः५१ बजे र ४ः२८ बजे भूकम्पका धक्का मापन भएका हुन्।

केन्द्रका अनुसार पहिलो भूकम्प ४.५ म्याग्निच्युडको थियो। त्यसको केही घण्टापछि ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो। दुवै भूकम्पका धक्का मुगुसहित आसपासका छिमेकी जिल्लामा समेत महसुस गरिएको बताइएको छ।
लगातार दुई पटक भूकम्प गएपछि स्थानीयमा त्रास सिर्जना भएको छ। यद्यपि, भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको विवरण सार्वजनिक भएको छैन। स्थानीय प्रशासनले सम्भावित क्षतिको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।


पश्चिम नेपालका विभिन्न जिल्लामा पछिल्लो समय साना तथा मझौला प्रकृतिका भूकम्पका धक्का निरन्तर महसुस भइरहेका छन्। भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मानिने क्षेत्रमा लगातार धक्का महसुस हुन थालेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
विशेषज्ञहरूले भूकम्पका बेला घरभित्र भए सुरक्षित स्थानमा बस्न, झ्याल तथा भारी वस्तुबाट टाढा रहन र बाहिर निस्कँदा सावधानी अपनाउन सुझाव दिँदै आएका छन्। पछिल्ला धक्काका कारण कुनै थप क्षति भए/नभएको विवरण आउन बाँकी रहेको छ।






























