सुदूरपश्चिममा सडक दुर्घटनाको भयावह तथ्यांक : एक वर्षमा १४ ठूला दुर्घटनामा ३९ जनाको मृत्यु

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको जोखिम उच्च देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका विभिन्न जिल्लामा भएका १४ वटा ठूला सवारी दुर्घटनामा ३९ जनाको मृत्यु र १४१ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार बैतडी, बझाङ, कैलाली, कञ्चनपुर र डोटीमा भएका दुर्घटनामध्ये केहीमा सवारी साधन सडकबाट सयौँ मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको थियो। बैतडीको पाटन–८ साडीघाँटीमा जिप करिब २५०–३०० मिटर तल खस्दा ६ जनाको मृत्यु र १२ जना घाइते भएका थिए। बझाङमा बस करिब १५० मिटर तल खस्दा १३ जनाको मृत्यु र ३६ जना घाइते भएका थिए।

यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ को भदौ १ देखि ३० गतेसम्म प्रदेशका नौवटै जिल्लामा सामान्य तथा ठूला गरी २१६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा घटनास्थलमै ९ र उपचारका क्रममा ३ गरी १२ जनाको मृत्यु, ३५ जना गम्भीर तथा ३३० जना सामान्य घाइते भएका छन्।

nawajiwan

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक परीक्षण, नियमित चेकजाँच तथा बढी दुर्घटना हुने स्थान पहिचान गरी सुधारका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने कार्य अघि बढाएको जनाएको छ। सुदूरपश्चिम भौतिक पूर्वाधार मन्त्रालयसमक्ष ट्राफिक लाइट र ANPR क्यामेरा जडान तथा दुर्घटना सम्भावित क्षेत्र सुधारसम्बन्धी प्रतिवेदनसमेत पठाइएको छ।

Attariya Hospital

भदौ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३५५ सवारीसाधनलाई कारबाही गरी २७ लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९३ चालकलाई कारबाही गरी ३ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

सार्वजनिक यात्रुवाहक सवारीका चालकको तीन पटक गरिएको लागूपदार्थ सेवन परीक्षणमा ६ जना चालक पोजिटिभ भेटिएका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ।

यसैबीच, ओभरलोड ढुवानी गर्ने १८ वटा ट्रकलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ भने स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ। स्वामित्व नखुलेका १० मोटरसाइकल भन्सार कार्यालय पठाइएको र थप ७ मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ADB अन्तर्गतको SASEC Highway Improvement Project मार्फत पाँचवटा Apache 200 CC मोटरसाइकलसमेत ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ।