
बझाङको चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले जिउँदै कुकुरलाई सेती नदीमा फालेको घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ती महिलाको पहिचान र खोजीका लागि सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको हो।

पुलमा क्यामेरा चलाउने व्यक्तिले लुकेर खिचेको भनिएको भिडियोमा महिलाले कुकुरलाई जबर्जस्ती नदीको भेलमा फालेको देखिन्छ। घटनामा उनीसँगै रहेका अन्य व्यक्तिहरू पनि देखिएका छन्। घटना तीजको अघिल्लो दिन भएको प्रारम्भिक जानकारी छ।

कुकुर आफ्नै भए वा अरूको भन्ने तथा महिलाले यस्तो कार्य गर्नुको कारण खुलेको छैन। जिल्ला प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। पशुमाथि क्रूर व्यवहार गर्ने कार्य कानुनअनुसार दण्डनीय भएकाले घटनालाई गम्भीर रूपमा लिइएको बताइएको छ।































