
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सवारी चालक प्रहरी कर्मचारीलाई उनीहरूको दरबन्दी भएकै कार्यालयमा खटाउन निर्देशन दिएका छन्। दरबन्दी भएको कार्यालयबाहेक अन्य प्रहरी कार्यालयमा कार्यरत ३६ जना सवारी चालकलाई सम्बन्धित दरबन्दी भएकै कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो।


डीआईजी भट्टराईले मातहतका प्रहरी कार्यालयलाई पत्राचार गर्दै दरबन्दीअनुसार चालकलाई जिम्मेवारीमा खटाउन निर्देशन दिएका छन्। उनले कुनै बहाना वा ढिलाइ नगरी ४८ घण्टाभित्र सम्बन्धित कार्यालयका लागि रमाना गरिसक्न स्पष्ट निर्देशन दिएका छन्।
प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले चालक प्रहरी कर्मचारीलाई दरबन्दीअनुसार परिचालन गर्न निर्देशन दिइएको जनाइएको छ। निर्देशन कार्यान्वयनसँगै सम्बन्धित कार्यालयमा सवारी चालकको जनशक्ति व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।






























